Sagun Khabar
अपांगता भएका र अशक्त नागरिकलाई घरमै नागरिकता दिने बैतडी प्रशासनको तयारी 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले अपांगता भएका र अशक्त नागरिकलाई घरमै नागरिकता दिने तयारी गरेको छ । 

बैतडीमा आएकी नयाँ प्रमुख जिल्ला अधिकारी मीना अर्यालले शुक्रबार सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा उक्त तयारी बारे जानकारी दिएकी हुन् । 

जिल्लाको सबै स्थानीय तहमा अपांगता भएका र अशक्त नागरिकहरुको तथ्यांक संकलन गरी नागरिकता नपाएकाहरुलाई घरमै नागरिकता दिने गरी आफूले सोच बनाएको उनले बताइन् । उनले भनिन्, ‘भौगोलिक हिसाबले कत्तिको सहज हुन्छ । स्थानीय तह र वडासँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयमा आउन नसक्ने नागरिकलाई घरमै नागरिकता दिने सोच बनाएकी छु ।’

पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले सुशासन, नागरिकमैत्री सेवा र जवाफदेहितालाई केन्द्रमा राखेर आफूले काम गर्ने बताइन् । यस अघिको अनुभव र यहाँको परिवेश अनुसार जिल्लामा सुशासन कायम गर्न आफू प्रतिबद्ध रहेको उनले बताइन् । उनले भनिन् ‘शान्ति, सुव्यवस्था कायम गर्ने, सुशासन कायम गर्ने प्रशासनको दायित्व हो । यसमा कटिबद्ध भएर काम गर्नेछु ।’

सञ्चारकर्मीहरुले जिल्लामा रहेका विभिन्न समस्याका बिषयमा प्रमुख जिल्ला अधिकारीलाई अवगत गराएका थिए । सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप, सार्वजनिक निर्माणका काममा ढिलासुस्ती, सडक दुर्घटना, लागू औषध दुर्व्यसन, विपद् व्यवस्थापन लगायतका बिषयमा सञ्चारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए ।   
 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update