बाजुरा –बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन् । गत बिहीबार दुई जनालाई पक्राउ गरेको प्रहरीले मंगलबार थप २ जनालाई पक्राउ गरेको हो ।
त्रिवेणी नगरपालिका–७ मालाकोटका ३२ वर्षीय चेतनदीप अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन । अनुसन्धानकै क्रममा रहेकाले परिचय खुलाउन नमिल्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी दिएका छन् । मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका अयडीको उपचारका लागि बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।