बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ थलाल गाउँमा कृषि दिवस सम्पन्न भएको छ । सिप्रेडको आर्थिक सहयोगमा सञ्चालित एनसाप परियोजना अन्तर्गत कृषक दिवस सम्पन्न गरिएको हो । दिवसमा किसानहरुका समस्या र ती समस्याको प्राविधिक समाधानका बारेमा छलफल भएको एनसाप परियोजनाका कार्यक्रम संयोजक भुवन भट्टले बताए ।
भवानी ताजा तरकारी तथा बीउ उत्पादन समूहका किसानहरुको सहभागितामा दिवस शुक्रबार सम्पन्न भएको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले थलाल गाउँलाई प्याजको पकेट क्षेत्र बनाउनका लागि पहल गरिने बताए । वडाका तर्फबाट प्याज खेतीमा लागेका किसानहरुलाई विभिन्न खालका सहयोग भईरहेको र अबका दिनमा ती सहयोगमा वृद्धि गर्ने उनले बताए । उनले भने ‘हामीले थलाल गाउँलाई प्याजको पकेट क्षेत्र बनाउने योजना बनाएका छौं । केही बजेटको अभावले यो हुन सकेको छैन् । अबका दिनमा हामीले प्रयास गर्नेछौं ।’
एनसाप परियोजनाका कार्यक्रम संयोजक भुवन भट्टले परियोजनाले गएको दुई बर्षदेखि थलाल गाउँमा प्याजको बीउ तथा बेर्ना उत्पादनमा लागेका किसानहरुलाई विभिन्न सहयोग गरिरहेको बताए । थलाल गाउँका किसानहरुले उत्पादन गरेको प्याजको बेर्नालाई प्रमाणिकरण समेत गरिसकिएको भट्टले बताए । बैतडी लोकल प्याज नाम दिएर प्याजको बीउलाई प्रमाणिकरण गरिएको उनले बताए । उनले भने ‘पहिलो पटक जिल्लामा प्याजको बीउ प्रमाणीकरण भएको छ । स्थानीयस्तरमै उत्पादित बीउ प्रमाणीकरण भएको हो । यसले अब किसानहरुलाई बजारीकरणका लागि समेत सहज हुनेछ ।’
एनसाप परियोजना अन्तर्गत आफूहरुलाई प्याजको बेर्ना र बीउ उत्पादनका लागि सहयोग भएको समूहका अध्यक्ष कुसुम थलालले बताइन् ।
कृषक दिवसका अवसरमा किसानहरुले विभिन्न समस्या समेत राखेका छन् । सिंचाईको अभावमा प्याजको बीउ उत्पादनमा केही समस्या भईरहेको किसान मोहन थलालले बताए ।