बैतडी –बैतडीमा बैतडी सुपर लिग (बीएसएल) टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा आगामी माघ १६ गतेदेखि प्रतियोगिता सञ्चालन हुने भएको हो ।
बैतडी जिल्ला क्रिकेट संघले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बिषयमा जानकारी गराएको हो । प्रतियोगिताको विजेताले नगद पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै उपविजेताले नगद दुई लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लोगराज जोशीले जानकारी दिए ।
प्रतियोगितामा म्यान अफ द सिरिजले २५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले जनही १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा इमर्जिङ प्लेयरले १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी, प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई पाँच हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहका टोली सहभागी हुनेछन् । पुरुषतर्फको प्रतियोगिता टी–२० फरम्याटमा ग्रुप लिग, सुपर फोर र फाइनल चरणमा खेलाइनेछ ।
प्रतियोगिता दशरथचन्द क्रिकेट स्टेडियम सुन्दरखालीमा सञ्चालन हुनेछ । प्रत्येक टोलीमा १४ जना खेलाडी र तीन जना अफिसियल रहने व्यवस्था गरिएको छ । टोलीमा सम्बन्धित पालिकाका कम्तीमा ८ जना खेलाडी समावेश गर्नुपर्नेछ । बैतडीका अन्य पालिकाबाट बढीमा तीन जना र सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाबाट बढीमा तीन जना खेलाडी सहभागी गराउन सकिने आयोजकले जनाएको छ ।
टीम दर्ता शुल्क एक लाख ५० हजार तोकिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई जिल्लाको आधिकारिक टि—२० टिमका लागि छनोट गरिने जोशीले जानकारी दिए ।




