बैतडी –बैतडी र बझाङमा एच आइभी संक्रमित र प्रवासीहरुलाई राहत वितरण गरिने भएको छ । ग्लोबल फण्डको सहयोगमा बहुउद्देश्यीय विकास समाज (एमपीडीएस) डडेल्धुराले राहत वितरण गर्ने भएको हो ।
बैतडीमा परियोजनाको बिषयमा जानकारी दिनका लागि आयोजना गरिएको बैठकमा सो कुराको जानकारी दिइएको हो । बैतडीका ३ सय ८१ र बझाङका ३ सय ८१ परिवारलाई प्रति परिवार २ हजार ४ सय बराबरको विभिन्न खाद्य सामग्री सहयोग गरिने कार्यक्रम संयोजक लोकेन्द्रप्रसाद पन्तले बताए ।
राहत प्राप्त गर्ने व्यक्तिहरुको पहिचान गरेर उनीहरुलाई जीवनयापनमा सहज होस भनेर राहत वितरणको तयारी भएको उनले बताए । दुवै जिल्लाका एच आइभी संक्रमित र प्रवासी परिवारहरुको पहिचान गरेर राहत वितरण गरिने पन्तले बताए । स्थानीय सरकारहरुसंग समन्वय गरेर राहत वितरणको कामलाई अघि बढाइने बताइएको छ ।
यस्तै परियोजना अन्तर्गत एच आइ भी परीक्षणको कार्य समेत अघि बढाइने पन्तले बताए । दुवै जिल्लामा नमूना संकलन गरेर संक्रमितहरुको पहिचान गरिने बताइएको छ । एच आइ भी संक्रमितहरुलाई उपचारको दायरमा ल्याउनका लागि परीक्षण कार्यलाई तीव्रता दिइने उनले बताए ।
बैठकमा बोल्दै बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले एच आइ भी संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नभएकाले यसका लागि स्थानीय सरकारहरुसंग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुँवरले एच आइ भी संक्रमितहरुलाई उपचारको दायरमा ल्याउन स्थानीय सरकारहरुसंग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
बैतडीमा अहिले १ सय १४ जना संक्रमित उपचारमा रहेका जिल्ला अस्पातल बैतडीले जनाएको छ ।





