बैतडी–बैतडीको प्रसिद्ध जगन्नाथ मन्दिरको पुननिर्माणका क्रममा आवश्यक पर्ने धुरीका लागि निङ्गलाशैनी भगवतीको जंगलबाट देवदारको काठ उपलब्ध गराइएको छ । जगन्नाथ मन्दिरको धुरीका लागि निङ्गलाशैनी मन्दिरकातर्फबाट धुरी उपलब्ध गराउने परम्परा रही आएको छ ।
निङ्गलाशैनी मन्दिरको स्थापित परम्परा अनुसार स्थानीय लावड जातीद्वारा बिहीबार देवदार धुरी काट्ने कार्य सम्पन्न भएको बताइएको छ । परापूर्वकालदेखि चल्दै आएको परम्परा अनुसार जगन्नाथ मन्दिरको धुरीका लागि देवदारको काठ काट्ने कार्य सम्पन्न भएको स्थानीय मोहितकुमार भण्डारीले बताए ।
धुरीका लागि देवदारको काठ काट्ने र ग्रहण गर्ने क्रममा निङ्गलाशैनी भगवती धार्मिक सेवा समिति, जगन्नाथ मन्दिर व्यवस्थापन समिति र अन्य स्थानीय धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो ।
मन्दिरको धुरीका लागि प्रयोग गरिने देवदारको काठलाई हिन्दू धर्ममा निकै पवित्र र देवताहरुको वृक्षका रुपमा लिने गरिन्छ । धार्मिक महत्वका साथै यो काठ निकै बलियो र कीरा नलाग्ने खालको हुन्छ ।
प्रसिद्ध जगन्नाथ मन्दिरको पुननिर्माणका लागि स्थानीयस्तरमै अभियान सञ्चालन गरिएको छ । अभियानमार्फत आर्थिक संकलनको काम भइरहेको भण्डारीले बताए ।




