Sagun Khabar
बैतडीमा प्रभावकारी बन्दै किशोरकिशोरीमैत्री सूचना केन्द्र 

बैतडी – बैतडीका विभिन्न विद्यालयहरुमा सञ्चालन गरिएका किशोरकिशोरीमैत्री सूचना केन्द्र प्रभावकारी बन्दै गएका छन् । किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर बोल्ने वातावरणको विकासका लागि किशोरकिशोरीमैत्री सूचना केन्द्रले महत्वपूर्ण भूमिका खेलेको ज्ञानेश्वर नमूना माविकी छात्रा लक्ष्मी भण्डारीले बताइन् । उनले भनिन् ‘हामीलाई पहिला पहिला महिनावारीका बारेमा समेत थाहा थिएन् । किशोरकिशोरीमैत्री सूचना केन्द्रमा विभिन्न पाठ्यसामग्रीको अध्ययनपछि हामीले यसको बारेमा थाहा पाएका हौं ।’

किशोरकिशोरीमैत्री सूचना केन्द्रबाट आफूहरुले विभिन्न कुराको जानकारी पाउन थालेको शोभा माविका छात्र उमेश बडुले बताए । उनले भने ‘हाम्रो विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालनमा आएपछि हामीहरुलाई धेरै कुराको जानकारी भएको छ । किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्यका बारेमा धेरै कुरा थाहा भएको छ ।’

किशोरकिशोरीमैत्री सूचना केन्द्रमा यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा विभिन्न छलफल हुने गरेको शोभा माविका ज्ञानेश्वर नमूना माविका श्रोत शिक्षक धनबहादुर महराले बताए । उनले भने ‘अहिले हामीलाई कक्षाकोठामा पठनपाठन गराउन समेत सजिलो भएको छ । यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा खुलेर छलफल हुन थालेको छ ।’

जिल्लाका २० ओटा विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना भएका छन् । ती केन्द्रहरुमा विद्यार्थीहरु यौन तथा प्रजनन स्वास्थ्यका बारेमा छलफल गर्ने गर्दछन् । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी नहुँदा विभिन्न समस्या हुने भएकाले सरकारले नै विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना गर्ने नीति ल्याएको हो । 

किशोरकिशोरीमैत्री सूचना केन्द्रले अभिभावक, शिक्षक र विद्यार्थीहरुमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा रहेका गलत धारणा हटाउन मद्दत गरेको सिद्धनाथ मावि मेल्चोराका शिक्षक गोपाल भट्टराईले बताए । उनले भने ‘यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा रहेका गलत धारणा हटाउन यी केन्द्रहरुले सहयोग गरेको छ । केन्द्रमा सहभागी विद्यार्थीहरु यो बिषयमा जानकार भएका छन् ।’

किशोरकिशोरीमैत्री सूचना केन्द्रले विद्यार्थीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यका बारेमा बुझ्न सजिलो भएको दुर्गा मावि खलिगाडका प्रधानाध्यापक पदमराज जोशीले जोशीले बताए । 

बैतडीमा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालनका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, नेपाल परिवार नियोजन संघ पाटन बैतडी, आड्रा नेपाल र फाया नेपालले सहयोग गर्दै आईरहेको छ । बृहत यौनिकता शिक्षाका बिषयमा समेत जानकारी दिनका लागि किशोरकिशोरीमैत्री सूचना केन्द्रहरुले सहयोग गरेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update