बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले मतदाता संख्या बराबर वृक्षारोपण गर्ने भएको छ । मतदाता संख्या बराबर वृक्षारोपण कार्यक्रम सञ्चालन गरेर पालिकाभरी वृक्षारोपण अभियान सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।
मतदाता संख्या बराबरका फलफूलका बिरुवा रोपण गरेर गाउँपालिकाबासीहरुलाई आत्मनिर्भरताको बाटोमा डोर्याउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष जोशीले बताए ।
गाउँपालिकाले शुक्रबार एक सूचना प्रकाशन गर्दै मतदाता संख्या बराबर वृक्षारोपण कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिन आग्रह गरेको छ । असार २ गते सम्म सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न आग्रह गरिएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।
अहिलेका लागि बर्खे फलफूल अन्तर्गत कागतीका विरुवा वितरण गर्ने योजना रहेको प्रवक्ता भट्टले बताए । कार्यक्रममा सहभागी हुन चाहने कृषि समूह, कृषि सहकारी, कृषि फर्म र कृषि उद्यमीहरुलाई आग्रह गरिएको छ ।
मतदाता संख्या बराबर वृक्षारोपण कार्यक्रममा सहभागी हुनेहरुले कम्तीमा ५० बिरुवा रोपणका लागि खाल्डो तयार गरेको हुनुपर्ने गाउँपालिकाको सूचनामा उल्लेख गरिएको छ । यस्तै कृषि सहकारी, समूह र फर्म दर्ता र नवीकरण भएका प्रमाणपत्र, कार्यक्रम सञ्चालन हुने जग्गाको स्वामित्व खुल्ने प्रमाणपत्र, निवेदकको नागरिकता र कृषि समूहको हकमा समूहको निर्णयको प्रतिलिपि आवश्यक रहेको सूचनामा उल्लेख गरेको छ ।
कृषि मार्फत उद्यमशीलतासंग जोड्नका लागि यो कार्यक्रम सञ्चालन गरिएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष जोशीले बताए । डिलाशैनी गाउँपालिकामा १३ हजार २५२ मतदाता रहेका र सोही संख्यामा वृक्षारोपण गर्ने जोशीले बताए । यो कार्यक्रमलाई निरन्तर अगाडि बढाइने पनि उनले बताए ।






