बैतडी–बैतडीको पाटन नगरपालिकाले सुर्नया नदीबाट जथाभावी रुपमा भईरहेको ढुंगा, बालुवा र गिट्टी उत्खनन कार्यमा रोक लगाएको छ । नगरकार्यपालिकाको प्रथम बैठकले सुर्नया नदीमा भईरहेको प्राकृतिक श्रोतको दोहन रोक्न यो निर्णय गरिएको नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए ।
नगरपालिका क्षेत्रभित्रको नदी किनारबाट जथाभावी ढुंगा, बालुवा र गिट्टी उत्खनन गर्ने कार्य भईरहेकाले त्यो कार्य रोक लगाइएको नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । उनले भने ‘नदीजन्य पदार्थको जथाभावी दोहन नहोस भनेर हामीले यो निर्णय गरेका हौं । यसको प्रभावकारी कार्यान्वयन गर्छौं ।’
नगरपालिकाले नदी क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्दा निश्चित मापदण्ड बनाउने र त्यसपछि मात्रै ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्ने कार्य शुरु गर्ने उपप्रमुख बोहराले बताए । जथाभावी भईरहेको दोहनलाई रोकेर करको दायरमा ल्याउने प्रयास भईरहेको उनले बताए ।
नगरपालिकाले ठेक्का प्रणाली मार्फत निश्चित मापदण्डका आधारमा ढुंगा, बालुवा,गिट्टी उत्खनन गर्न दिनेछ । यसका लागि मापदण्ड बनाइनेछ । तत्कालका लागि अर्को सूचना नभएसम्मका लागि सुर्नया नदीबाट ढुंगा, बालुवा र गिट्टी उत्खनन गर्न नपाइने उपप्रमुख बोहराले बताए ।





