Sagun Khabar
जिल्ला भलिबल संघ बैतडीको अध्यक्षका लागि को–को छन् आकांक्षी ?

बैतडी –जिल्ला भलिबल संघ बैतडीको अध्यक्षका लागि वर्तमान कार्यसमितिमा रहेका पदाधिकारी र सदस्यहरुले आकांक्षा देखाएका छन् ।  

वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष वसन्तप्रकाश बिष्ट र उपाध्यक्ष प्रेमबहादुर चन्दले अध्यक्ष पदका लागि आकांक्षा देखाएका छन् । यस्तै समिति सदस्य देव महराले पनि अध्यक्ष पदमा दाबी गर्ने जनाएका छन् । 

यही असोज ४ गते जिल्ला भलिबल संघको अधिवेशन हुने तय भएको छ । उक्त अधिवेशनले संघको नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ । 

लामो समयदेखि भलिबल संघमा आवद्ध भएको र खेलकुदका क्षेत्रमा क्रियाशील रहेकाले आफूले अध्यक्ष पदमा दाबी गरेको बिष्टले बताए । वर्तमान कार्यसमितिको बरिष्ठ उपाध्यक्ष भएकाले आफूले अध्यक्ष पदमा दाबी गरेको उनले बताए । 

यस्तै भलिबलका राष्ट्रिय रेफ्री समेत रहेका प्रेमबहादुर चन्दले भलिबल खेलको विकास र विस्तारका लागि आफूले अध्यक्ष पदमा दाबी गरिरहेको बताएका छन् । भलिबल खेल र खेलाडीको विकास र प्रवद्र्धनका लागि आफूले नेतृत्वमा आकांक्षा देखाएको चन्दले बताए । 

लामो समयदेखि आफू भलिबल खेलको क्षेत्रमा क्रियाशील रहेकाले नेतृत्वमा आफूले दाबी गरिरहेको चन्दको भनाइ छ । जिल्लामा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डदेखि अन्य भलिबल प्रतियोगितामा सक्रियतापूर्वक आफूले काम गरेको चन्दले बताएका छन् । महारुद्र क्लबको स्थापना गरेर भलिबल खेलका लागि आफूले पहल गरेको चन्दले बताए । 

यस्तै वर्तमान कार्यसमितिका सदस्य देव महराले पनि नेतृत्वमा आकांक्षा देखाएका छन् । सबै सदस्यहरुसँगको समन्वयमा आफूले नेतृत्वमा दाबी गरिरहेको उनले बताए ।
 

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update