Sagun Khabar
महाकाली नदीमा भारतले चलायो स्काभेटर, दार्चुलामा दुवै पक्षबीच ढुंगा हानाहान 
Atrya hospital

दार्चुला –दार्चुलाको सदरमुकाम खलंगास्थित महाकाली नदी क्षेत्रमा भारतले मनपरी गर्न थालेको छ । आज (मंगलबार) मात्रै भारतीय पक्षले नेपालको क्षेत्रमा पर्ने महाकाली नदीमा स्काभेटर चलाएको छ । तटबन्ध निर्माण कार्य गरिरहेको भन्दै भारतीयले नेपाली नदी क्षेत्रमा स्काभेटर चलाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 

भारतले नेपालको क्षेत्रमा स्काभेटर चलाएपछि नेपाल र भारतका स्थानीय नागरिकबीच ढुंगा हानाहान समेत भएको बताइएको छ । भारतीय पक्षले नेपालतर्फ नदीको धार फर्काएपछि स्थानीयबीच विवाद सुरु भएको थियो । दार्चुला प्रशासनसँग समन्वय नै नगरेर भारतले एकतर्फी तरिकाले महाकालीमा स्काभेटर चलाएर धार परिवर्तन गरेपछि दुवै देशका नागरिकबीच ढुंगा हानाहान भएको हो । 

महाकाली नदीको धार सदरमुकाम खलंगातिर धकेलिने गरी भारतले महाकाली नगरपालिका–४ स्थित नदीमा स्काभेटर चलाएपछि ढुंगा हानाहान भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले तटबन्ध निर्माण गररहेको उनले बताए । नेपाली भूभागबाट ढुंगा उत्खनन् समेत गरेको उनको भनाई छ ।
ढुंगा हानाहानपछि दुवैतर्फका प्रशासनको सहयोगमा स्थानीयलाई तितरवितर गरिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १८:५९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update