Sagun Khabar
अब डिलाशैनीको केन्द्र धामीगाउँबाटै सेवा सञ्चालन गर्नुपर्ने 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकालाई साविककै केन्द्रबाट सेवा सञ्चालन गर्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आग्रह गरेको छ । गाउँपालिकाको केन्द्र हेरफेर गर्नका लागि वडा नं ३ को पङसेरामा राख्न २०७७ को मंसिर २१ मा मन्त्रीपरिषदमा प्रस्ताव पेश गरिएको भएपनि सरकार फेरबदल भएर सो प्रस्ताव फिर्ता भएकाले साविककै ठाउँबाट सेवा दिन आग्रह गरिएको हो । 

डिलाशैनी गाउँपालिकाको केन्द्र हेरफेरका बिषयमा कुनै निर्णय नभएकाले डिलाशैनी गाउँपालिकाको वडा नं ७ मै केन्द्र रहेको र सोही ठाउँबाट सेवा सञ्चालन गर्न मन्त्रालयले गाउँपालिकाका नाममा पत्राचार गरेको छ । मन्त्रालयको सचिवस्तरको निर्णय भएकाले सोही अनुसार कार्यान्वयन गराउन पनि पालिकालाई आग्रह गरिएको छ । 

डिलाशैनी गाउँपालिकाले अहिले वडा नं ३ को पङसेराबाट सेवा दिँदै आएको छ । सोही ठाउँमा केन्द्र राख्न समेत पालिकाले निर्णय गरेर पठाएको थियो । तर पालिकाको केन्द्रका बिषयमा अहिले सम्म नयाँ निर्णय भईसकेको छैन् । 

डिलाशैनी गाउँपालिकाले गरेको निर्णयको विरोधमा त्यहाँ नागरिकले लामो समयदेखि आन्दोलन समेत गर्दै आएका थिए । साविकको केन्द्र तोकिएकै ठाउँबाट सेवा सञ्चालन गर्न मन्त्रालयले पत्राचार गरेकाले सोही अनुसार गाउँपालिकाले निर्णय कार्यान्वयन गर्नुपर्ने अनेरास्ववियुका  उपमहासचिव गोविन्द गिरीले बताए । आफूहरुले पुरानै ठाउँबाट केन्द्र सञ्चालन गर्न लामो समयदेखि संघर्ष गरिरहेको र अहिले जनताको पक्षमा निर्णय भएको उनले दाबी गरे । 

मन्त्रालयले डिलाशैनीको केन्द्र धामीगाउँबाटै सेवा सञ्चालन गर्न निर्देशन दिएपछि अहिलेका लागि संघर्ष समितिले गरिरहेको न्यायिक आन्दोलन स्थगित गरिएको नेपाली कांग्रेस डिलाशैनी गाउँपालिकाका सभापति जयानन्द जोशीले बताए । मन्त्रालयको निर्णय जनताको पक्षमा भएको र यसले नागरिकको जित भएको उनले दाबी गरे । 

मन्त्रालयले गरेको निर्णयको बोधार्थ जिल्ला प्रशासन कार्यालय बैतडीलाई समेत पठाइएको छ । यस्तै सुदूरपश्चिम सरकारको मुख्यमन्त्री कार्यालय, गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई समेत निर्णयको बोधा मन्त्रालयले गरेको निर्णयको स्वागत गर्दै आन्दोलनमा रहेको पक्षले जनताको जित भएको दाबी समेत गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा समेत सो निर्णयको चर्चा हुन थालेको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update