दार्चुला–दार्चुलामा बुधबार भारतीय सेना अनुमतिबिना नेपाल प्रवेश गरेको छ । भारतीय प्यारामिलिट्री फोर्सअन्तर्गतको गोर्खा रेजिमेन्ट सेनाका जवान महाकालीमा पौडी खेलेर बिना अनुमति नेपालतर्फ आएका हुन् ।
ढुंगामा डोरी बाँध्न रेजिमेन्टका जवान पौडी खेल्दै जिल्लाको महाकाली नगरपालिका–४ मा नेपाल प्रवेश गरेका थिए । नदीमा रेस्क्यु ट्रेनिङ गर्न उनीहरु पौडी खेलेर नेपालतर्फ आएको बुझिएको छ । तालिमका लागि डोरी बाँध्न लाग्दा उनीहरुलाइ नेपाल प्रहरीले देखेपछि नेपालतर्फ बाँधेको डोरी फुकाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । डोरी फुकाएर उनीहरुलाई भारततर्फ पठाइएको दार्चुला प्रहरीका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए ।
महाकाली अन्तर्राष्ट्रिय सीमा नदी भएकोले कुनै पनि काम गर्न अथवा नेपाल प्रवेश गर्न अनुमति लिनुपर्ने हुन्छ । तर भारतीय पक्षले कुनैपनी जानकारी नदिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।