Sagun Khabar
धानबालीमा क्षति पुगेका किसानका लागि बैतडीमा ८ लाख निकासा

बैतडी-सरकारले बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब रुपैयाँ निकासा गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भइ आएका जिल्लामा मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

त्यसै अनुरुप बैतडीमा ८ लाख रकम निकासा भएको छ । रकम निकासा भएकोे विवरण  प्रत्येक स्थानीय तहहरुलाई सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी खगन्द्र भारतीले बताए ।

मापदण्ड–२०७८ ले निर्धारण गरेको आधार र प्रक्रिया अनुसार राहत रकम उपलब्ध गराउन लागिएको उहाँले बताए । देशका विभिन्न ठाउँमा गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म बेमौसमी वर्षाको कारण धानबालीमा क्षति  पुग्दा विभिन्न जिल्लाका किसान प्रभावित भएका थिए ।

किसानलाई राहत उपलब्ध गराउने सम्बन्धमा गत कात्तिकमा सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, स्वीकृत गरेको थियो ।

अर्थ मन्त्रालयबाट निकासा रकम केन्द्रीय विपद् व्यवस्थापन कोषमा ल्याइ धानबालीमा क्षति पुगेका बैतडी,डडेलधुरा, बाजुरा, कञ्चनपुर र कैलालीका लगायत देशभरी प्रभावित जिल्लाहरुमा   किसानलाई राहत उपलब्ध गराउने निर्णय भएको हो ।

देशैभरी प्रभावित जिल्लाका विपद् व्यवस्थापन कोषमा ८५ करोड चार लाख रुपैयाँ रकम निकासा भइसकेको गृह मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update