Sagun Khabar
दार्चुलाका हिमाली क्षेत्रमा भारी हिमपात 

दार्चुला –दार्चुलाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको बताएका छन् । पानी खाने विकल्प नभएपछि हिउँ पग्लाएर पानी बनाउँदै पिउने गरिएको सुरक्षाकर्मीहरुले बताएका छन् । 

अहिले यो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँमा एक जना चौकीदारमात्रै छन् ।  पहिल्यैकै हिउँ पग्लिएको थिएन, थप हिउँ परेपछि जाडो ह्वात्तै बढेको छ । गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको छ ।

Atrya hospital

अहिले सशस्त्र बसेको गागाबाट छाङ्गरुसम्म जानै मुस्किलको अवस्था आएको बताइएको  छ । सो क्षेत्रमा गत वर्षदेखि सशस्त्र प्रहरी बाह्रैमास बस्न थालेको हो । गत वर्ष पनि यो क्षेत्रमा सशस्त्र प्रहरीले हिउँ पग्लाएरै पानीको प्रयोग गर्नुपरेको थियो । 

जिल्लाको अपिहिमाल, नौगाड, मार्मा, दुहूँ, व्यास र मालिकार्जुन गाउँपालिकाको उच्च भू–भागमा भारी हिमपात भएको स्थानीयहरुले बताएका छन् । राष्ट्रकै सातौँ धाम मालिकार्जुनमा लामो समयपछि भारी हिमपात भएको त्यहाँका स्थानीयहरुले बताएका छन् । 

यस्तै नौगाड क्षेत्रमा पनि भारी हिमपात भएको छ । नौगाडको सिप्टी, इयरकोट, दल्लेखलगायतका क्षेत्रमा भारी हिमपात भएको स्थानीय चन्द्रावती ठगुन्नाले बताइन् । अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी बजार क्षेत्रसम्म भारी हिमपात भएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update