Sagun Khabar
प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन मतदान हुँदै, आजै टुङ्गो लाग्ने सम्भावना कम

प्रदेश नम्बर २ को प्रदेश सभामा आज प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाउन मतदान हुने भएको छ ।

प्रदेश सभामा विभिन्न दलहरुले पेस गरेका नाम र स्थायी राजधानी सम्बन्धी प्रस्तावमा आज मतदान गराउने कार्यसूची रहेको छ ।

Atrya hospital

दिउँसो १ बजे मतदान गर्ने तयारी छ । दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल भएपछि नाम र राजधानी तोक्ने प्रक्रिया लम्बिएको छ ।

हिजो बसेको प्रदेश सभा बैठकमा समितिका सदस्य परमेश्वर साहले प्रतिवेदन पेस गर्दै नामाकरण र स्थायी राजधानीमा दलीय सहमति हुन नसकेको बताउनुभयो । साहले प्रतिवेदन पेस गरेपछि नामाकरण र राजधानीबारे छलफल सुरु भए पनि सांसदहरुले पुरानै अडान दोहोर्याएका छन् ।

प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ । सत्तारुढ जसपा र माओवादी तथा विपक्षी दल लोसपाले मधेश तथा कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेका छन् । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेका छन् भने कांग्रेसकै सांसद राजेश्वर साहले मध्य मधेश प्रस्ताव दर्ता गराउनुभएको छ । यस्तै राजधानीका लागि जनकपुरधाम र वीरगञ्जको प्रस्ताव दर्ता भएको छ ।

आआफ्नो अडान राख्दै आएका कुनै पनि दलसँग दुई तिहाइ छैन । कुल १ सय ४ सांसद रहेको प्रदेशमा जसपाको ३९, कांग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीको १३, माओवादीको ८, एमालेको ८ र नेपाल सङ्घीय समाजवादी पार्टीको १ जना सांसद छन् । राजधानी र नाम पारित गराउन दुई तिहाइ बहुमत अर्थात ७० सांसद चाहिन्छ ।

कुनै पनि पक्षमा दुई तिहाइ पुग्न मुस्किल भएकाले आजै टुङ्गो लाग्ने सम्भावना कम छ ।

-उज्यालो 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update