Sagun Khabar
बैतडीमा भलिबल संघ गठन विवादमा, एकलौटी गरिएको भण्डारीको आरोप 

बैतडी–बैतडीमा भलिबल संघ गठन विवादमा तानिएको छ । जिल्ला भलिबल संघ एकलौटी रुपमा गठन गरिएको अध्यक्ष पदका आकांक्षी सागर भण्डारीले आरोप लगाएका छन् । 

बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष भुपेन्द्रबहादुर चन्दले एकलौटी रुपमा संघ गठन गरेको भण्डारीको आरोप छ । 

यही असोज १३ गते वसन्तप्रकाश बिष्टको अध्यक्षतामा भलिबल संघको नयाँ जिल्ला कार्यसमिति चयन गरिएको भएपनि गठन प्रक्रिया विवादमा आएको हो । 

अध्यक्षका आकांक्षीहरूबीच सहमति नभएपछि निर्वाचन प्रक्रियामा जानुपर्छ भन्दाभन्दै एकलौटी रूपमा संघ गठन गरेको भण्डारीको आरोप छ । सबै प्रतिनिधि घर फर्किएपछि होटेलमा बसेर समिति गठन गरिएको उनको दाबी छ । भण्डारीले सामाजिक सञ्जालमा बन्दसत्रको एक भिडियो समेत सार्वजनिक गरेका छन् । 

उक्त भिडियोमा अध्यक्षमा विष्ट,उपाध्यक्षमा भण्डारीसहित अन्य कार्यसमितिमा रहेका पदाधिकारीको नाम वाचन गर्दै ताली पिटिरहेको देखिन्छ । भिडियोमा भण्डारी उपाध्यक्षमा रहेका भएपनि पछि सार्वजनिक कार्यसमितिको उपाध्यक्षमा प्रेम चन्दको नाम आएपछि विवाद सिर्जना भएको हो । भण्डारीले आफ्नो नाम उपाध्यक्षमा चयन भएपनि रातिको समयमा हटाएर एकलौटी गरिएको बताएका छन् । 

यता जिल्ला खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्दले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर  विधि विधानअनुसार नै संघ गठन गरिएको बताए । उनले भने, ‘मैलै खेलकुदको अध्यक्षको क्षेत्राधिकार र विधिविधानअनुसार नै भलिबल संघ गरेको हुँ,यसमा कुनै विवाद छैन ।’

भलिबल संघका बरिष्ठ उपाध्यक्षको निर्देशनमा भण्डारीलाई प्रदेश प्रतिनिधिमा चयन गरिएको उनले बताए । 

असोज १३ गतेसम्म जिल्ला भलिबल संघको अधिवेशन सम्पन्न गर्न केन्द्रको निर्देशन रहेको र उक्त मितिसम्म अधिवेशन नभए संघ निलम्बन हुने चेतावनी दिइएकोले निर्धारित मितिमै संघ गठन गरिएको अध्यक्ष चन्दको दाबी रहेको छ । उनले भने, ‘मैले कुनै विधि प्रक्रिया मिचेर संघ गठन गरेको छैन् । खेलकुद समितिको अध्यक्षको हैसियतले मेरो दायित्व निष्पक्ष रुपमा निर्वाह गरेको छु ।’

यसअघि असोज ४ गते राखिएको अधिवेशनमा पनि विवाद हुँदा असोज १३ गते अधिवेशन धेकेलिएको थियो । 

अधिवेशनबाट वसन्तप्रकाश बिष्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा प्रेम चन्द र उपाध्यक्षमा अशोक बहादुर चन्द, सचिवमा देव महरा र कोषाध्यक्षमा सरस्वती खत्री बोहरा चयन भएका हुन् ।
 

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  १२:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update