पाँचथरको फालेलुङ– ६ बरभन्ज्याङमा आगलागीबाट करोडौंको क्षति भएको छ ।
स्थानीय जित बहादुर मेयोङबाको घरबाट अचानक विद्युत सर्ट भई बिहिबार बिहान आगलागी हुँदा १ करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनु भयो ।आगलागीबाट मेयोङबाको घर, उहाँले संचालन गर्दे आउनु भएको दुग्ध डेरी किराना पसल, नगद ७ लाख रुपैयाँ, नेपाली कांग्रेस वडा नं. ६ को कार्यालयको फर्निचर, कागजपत्र समेत जलेर नष्ट हुँदा करिब ५७ लाख रुपैयाँको क्षति भएको थियो ।
यस्तै, रामजित राईको घर, घरमा बस्ने धर्म केरुङको किराना पसल गरी करिब ४० लाख रुपैयाँ, मन बहादुर राईको २० लाख रुपैयाको घर, महेन्द्र राईले संचालन गर्दे आएको आईएमई मनि ट्रान्सफर जल्दा ६ लाख रुपैयाँ, सोही घरमा रहेको जुत्ता पसल जलेर नष्ट हुँदा करिब १० लाख रुपैयाँ, सुरेन्द्र राईको फेन्सि पसल, अलैँची गोदाममा आगलागी हुँदा २० लाख रुपैया र रञ्जना राईको टेलर्स, लुगा सिलाउने मेसिन, कपडा समेत १४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।