Sagun Khabar
जिल्ला अस्पताल बैतडीबाट भेन्टिलेटर फिर्ता मागियो 

बैतडी-जिल्ला अस्पताल बैतडीमा गत मंसिरमा जडान गरिएको भेन्टिलेर मेसिन फिर्ता हुने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा जडान गरिएको भेन्टिलेटर मेसिन फिर्ता हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए । 

दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर सञ्चालनमा नआएकाले प्रदेश सरकारको आग्रहमा दक्ष जनशक्ति भएका ठाउँमा भेन्टिलेटर मेसिन फिर्ता गरिने डा. जोशीले बताए । उनले भने ‘हाम्रो अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति छैन् । त्यसैैले जनशक्ति भएका ठाउँका लागि मेसिन फिर्ता पठाउँदैछौं ।’

Atrya hospital

सुदूरपश्चिमका  विभिन्न अस्पतालहरुमा जडान गरिएका भेन्टिलेटर प्रदेश सरकारले फिर्ता मागेको डा.जोशीले बताए । दक्ष जनशक्ति नभएका ठाउँका भेन्टिलेटर जनशक्ति भएका ठाउँका लागि फिर्ता मागिएको हो । 

अस्पतालमा अक्सिजनको अभाव 
जिल्ला अस्पताल बैतडीमा अक्सिजनको अभाव भएको छ । कोरोनाका बिरामी बढ्दै गएपछि अहिले अस्पतालमा अक्सिजनको अभाव भएको डा. जोशीले बताए । उनले भने ‘अस्पतालमा अक्सिजनको अभाव भएको छ । अक्सिजन चाहिने बिरामीहरुलाई अब भर्ना गर्न नसकिने अवस्था आएको छ ।’

जिल्ला अस्पतालमा उपचाररत १३ जना कोरोनाका बिरामी मध्ये १० जनाको अक्सिजन सपोर्टमा उपचार भईरहेको डा. जोशीले बताए । ‘हामीसंग भएको अक्सिजनको मात्रा सकिँदैछ । अहिले भर्ना भएका बिरामीहरुका लागि मात्रै अक्सिजन छ । त्यसैले थप बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुगेका छौं ।’

अस्पतालसंग भएका अक्सिजन सिलिण्डरहरु खाली भएका उनले बताए । कसैसंग अक्सिजनका सिलिण्डर भए अस्पताललाई दिन पनि उनले आग्रह गरे । उनले भने ‘अक्सिजनले कसैको ज्यान जोगिन सक्छ । त्यसैले घरमा अथवा अन्य प्रयोजनका लागि भएका खाली अथवा भरिएका सिलिण्डर भएमा उपलब्ध गराउन आग्रह गर्दछु ।’

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update