काठमाण्डौ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ ।
लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए । उनका अनुसार वर्षाका कारण कीर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान पूरै भिजेकाले खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक–एक अङ्क बाँडेका छन् ।
क्यानका अनुसार आज हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स खेल्ने तालिका छ । तर बेलुका ५ बजेदेखि सुरु हुने खेल पनि वर्षाले प्रभावित हुने सम्भावना छ । यही कात्तिक ९ गतेदेखि सुरु भएको एनपिएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका यसअघिका दुई संस्करणमा वर्षाका कारण कुनै खेल रोकिएका थिएनन् । सबै खेल निर्धारित समयमा पूरा भएका थिए ।
यसअघिका प्रतियोगिता नोभेम्बर–डिसेम्बरमा आयोजना गरिए पनि यस संस्करणदेखि त्यसको एक महिना अगाडि प्रतियोगिता आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय क्यालेन्डरअनुसार विन्डो मिलाउन एनपीएल अगाडि सारिएको क्यानले जनाएको थियो । नोभेम्बर–डिसेम्बरमा आयोजना गर्दा युएईको इन्टरनेश्नल लिग टी–२० (आईएलटी–२०) सँग जुधेका कारण एनपीएल खेलेका खेलाडी बीचमै छाडेर दुबई जाने गरेका थिए ।
अहिले पनि क्यानडाको ग्लोबल टी–२० र अवुधाबी टी–२० सँग जुधेका कारण केही विदेशी खेलाडीले एनपीएलमा सम्झौता भए पनि त्यता गएको गुनासो फ्रेन्चाइज टोलीले गरेका छन् ।





