Sagun Khabar
रसुवा बाढीमा बेपत्ता बैतडीका बिष्टको कुशको शव बनाएर अन्तेष्टी गरिने 

बैतडी–गएको भदौ १० गते रसुवामा आएको भीषण बाढीपछि बेपत्ता भएका बैतडीका केशव बिष्टको कुशको शव बनाएर अन्तेष्टी गरिने भएको छ । 

बाढीपछि सम्पर्कविहिन भएका सुर्नया–५ ककस्यालीका २५ बर्षीय बिष्ट लामो समयसम्म सम्पर्कविहिन भएपछि परिवार कुशको शव बनाएर अन्तेष्टी गर्ने निर्णयमा पुगेको हो । 

बिष्टको खोजी गर्दा अहिलेसम्म फेला नपरेपछि धार्मिक विधि अनुसार कुशको शव बनाएर बिष्टको अन्तेष्टी गर्ने तयारी भएको उनका ठूलोबवा भानबहादुर बिष्टले बताए । 

बिष्टको सुर्नया–५ स्थित चनैराज आर्यघाटमा बिहीबार अन्तेष्टी गरिने उनले बताए । बिहीबार बिहान ककस्यालीबाट शवयात्रा शुरु हुने र चनैराज आर्यघाटमा अन्तिम संस्कार गरिने बिष्टले बताए । 

रसुवास्थित लाङटाङ हाइड्रो पावरमा बिष्ट विगत दुई बर्षदेखि सव–इन्जिनियर पदमा कार्यरत रहेका थिए । रसुवा बाढीपछि उनी बेपत्ता भएका थिए ।

बिष्टको घरमा आमा–बुवाका साथै एक भाइ र बहिनी रहेका छन् । बिष्टको निधनले ककस्याली गाउँ शोकमा डुबेको छ । बाढीपछि सम्पर्कविहिन भएका बिष्ट फर्कने आशा सकिएपछि कुशको शव बनाएर अन्तेष्टी गर्न लागिएको पारिवारिक श्रोतले जनाएको छ ।  
 

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update