बैतडी–नवरात्र एवं बडादसैँको आठौँ दिन आज देशभर महाअष्टमी पर्व श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाइँदैछ । आजका दिन घर घरका पूजाकोठा तथा दशैँघरमा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
वैदिक सनातनी परम्परा अनुसार असोज शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन शक्तिस्वरूपा महागौरी देवीको पूजा गर्ने विधान रहेको छ ।
गत असोज २५ गते आइतबार वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएसँगै सुरू भएको नवरात्रका क्रममा पहिलो दिन शैलपुत्री दोस्रो दिन ब्रह्मचारिणी तेस्रो दिन चन्द्रघण्टा चौँथो दिन कुष्माण्डा पाँचौँ दिन स्कन्दमाता छैटौँ दिन कात्यायनी सातौँ दिन (हिजो) कालरात्रि देवीको पूजा गरिनुका साथै हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको थियो ।
नवरात्रभर देवीको उपासना गर्नाले शक्ति, ऐश्वर्य, ज्ञान र सुख शान्ति प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ । नौ दिनसम्म पूजा आराधना गरी प्राप्त गरिएको देवीको प्रसाद र जमरा विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने गरिन्छ ।
महाअष्टमीका अवसरमा आज बिहानैदेखि काठमाडौँको गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवतीका साथै देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरहरूमा पूजाअर्चना र दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ ।




