बझाङ — बझाङको जयपृथ्वी नगरपालिकामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएका छन् ।
जयपृथ्वी नगरपालिका–११ भोपुरस्थित चैनपुर–ताक्लाकोट सडकखण्डमा सिमेन्ट र सरिया लिन चैनपुर बजारतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४१९३ नम्बरको ट्याक्टर आज बिहीबार बिहान ८ः०० बजे अनियन्त्रित भई सडकबाट करिब ७० देखि ८० मिटर तल सेती नदीको किनारमा खसेको हो ।
दुर्घटनामा परी ट्याक्टर चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ४० वर्षीय राज चौधरी गम्भीर घाइते हुनुभएको छ ।
यस्तै, जयपृथ्वी नगरपालिका–११ का ४२ वर्षीय रमित रजक, ३२ वर्षीया चन्द्रा जोशी, उहाँका ९ वर्षीय छोरा रिदम जोशी र ४५ वर्षीया हर्का देवी जोशी मध्यम घाइते हुनुभएको छ । मष्टा गाउँपालिका–४ आग्राका ३२ वर्षीय गङ्ग कठायत भने सामान्य घाइते हुनुभएको छ ।
घाइते सबैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।




