Sagun Khabar
सुर्नयामा ग्रामीण सडक मर्मत नहुँदा समस्या, चाडपर्वका लागि घर फर्कनेलाई  सास्ती 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाभित्रका ग्रामीण सडक मर्मत नहुँदा स्थानीयहरुलाई सास्ती भएको छ । 

दशैं–तिहार जस्ता ठूला चाडपर्व नजिक आए पनि बर्षातको समयमा बिग्रेका सडकहरु मर्मत नहुँदा समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् । 

बर्षातको समयमा बिग्रेका सडक मर्मतमा गाउँपालिकाले ध्यान नदिएको भन्दै स्थानीयहरु असन्तुष्ट भएका छन् । सडक मर्मत नभएकै कारण बारीमा फलेको बन्दा बजारमा पुर्याउन नपाउँदा कुहेर नष्ट भएको सुर्नया–५ धुलिधारका दलबहादुर बिष्टले बताए । 

दशैंको समयमा पूजापाठ र अन्य प्रयोजनका लागि घर फर्कनेहरुको संख्या बढ्दै गएको छ तर बिग्रेका सडक मर्मत नहुँदा आवतजावतमै समस्या भएको स्थानीय केशवराज भट्टले बताए । 

बर्षातको समयमा खाल्डाखुल्डी भएका, पहिरोका अवरुद्ध भएका र भत्केका सडक तत्काल मर्मत गर्नुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् । चाडपर्वलाई लक्षित गरी सडक सफाइ तथा मर्मतसम्भारमा स्थानीय सरकारले आवश्यक चासो नदेखाएको स्थानीय बासिन्दाहरुको गुनासो रही आएको छ । 

ग्रामीण सडकहरू समयमै सफाइ तथा मर्मत नहुँदा स्थानीयवासीलाई आवतजावत गर्न सास्ती भइरहेको छ । सडकको दयनीय अवस्थाका कारण दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न, बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन तथा अन्य अत्यावश्यक कामका लागि यात्रा गर्नसमेत कठिनाइ भइरहेको बताइएको छ । 

वर्षायामको पानीको भेलले सडकमा ठूला–ठूला खाल्डाखुल्डी बनाएको छ भने कतिपय स्थानमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । सडकको यस्तो अवस्थाले सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको बताइएको छ । 

अवरुद्ध भएका ग्रामीण सडकहरु तत्काल मर्मत गर्नुपर्नेमा स्थानीयबासीहरुले जोड दिएका छन् । केही दिन पहिला जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले समेत सात दिनभित्र अवरुद्ध भएका ग्रामीण सडक सम्बन्धित निकायले सञ्चालन ल्याउनुपर्ने निर्णय गरेको थियो । 
 

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update