Sagun Khabar
प्रसिद्ध अनिरुद्र मन्दिरको जात्रा आज 

बैतडी –बडादशैंको चौथो दिन आज बैतडीको प्रसिद्ध अनिरुद्र मन्दिरमा जात्रा हुँदै छ । घटस्थापनाका दिन मन्दिरको भण्डार घरमा सामूहिक जमरा राखेर नित्य पूजा आराधना भइरहेको र आज मन्दिरमा जात्रा हुने अनिरुद्र मन्दिरका पूजारी विनोदप्रसाद अवस्थीले बताए । हरेक बर्ष आश्विन शुक्ल चतुर्थीका दिन अनिरुद्र मन्दिरमा जात्रा हुने गर्दछ । 

बैतडीको सुर्नया गाउँपालिका –६ मूलखटालीस्थित मूलथान र अन्य ठाउँमा रहेका अनिरुद्र मन्दिरमा आज जात्रा लाग्ने अनिरुद्र मन्दिरका पूजारी अवस्थीले बताए । 

हरेक बर्ष नवरात्रको चतुर्थी र महाष्टमी तिथीमा अनिरुद्र मन्दिरमा जात्रा हुने गरेको उनले बताए  । अनिरुद्र देवताको पूजाआजा गरेमा विद्या प्राप्त हुने जनविश्वास रही आएको उनले बताए । अनिरुद्र देवतालाई वेद र विद्याका देवताको रुपमा पूजाआजा गर्ने गरिएको छ । 

अवस्थीहरुको कुल देवताको रुपमा समेत अनिरुद्र देवताको पूजाआजा गर्ने गरिएको छ । बह्रमरुपी देवता भएकाले अनिरुद्र देवताको पूजाआजा गरेमा सुख,शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त हुने अनिरुद्र मन्दिरका अर्का पूजारी गणेशदत्त अवस्थीले बताए । 

अनिरुद्र मन्दिरमा असोज शुक्ल चतुर्थी र महाष्टमी, चैत शुक्ल चतुर्थी र अष्टमी, माघ शुक्ल चतुर्थी र भदौ शुक्ल चतुर्थीका दिन जात्रा तथा पूजाआजा हुने अनिरुद्र मन्दिरका पूजारी अवस्थीले बताए । 

बैतडीको सुर्नया ६ स्थित मूलखटालीमा अनिरुद्र देवताको मुख्य मन्दिर रहेको छ । सो मन्दिरमा हरेक बर्ष टाढाटाढाका दर्शनार्थीहरु पुग्ने गर्दछन् । यो बर्ष पनि अनिरुद्र मन्दिरको दर्शनका लागि बसाइसराई गरेर गएकाहरु पनि पुख्र्यौली थलोमा फर्किएका पूजारी अवस्थीले बताए । 

सुर्नयाका साथै पाटन नगरपालिका, सिगास गाउँपालिका, बझाङ, डडेल्धुरा लगायतका क्षेत्रमा पनि अनिरुद्र देवताको पूजाआजा हुने गरेको पूजारी अवस्थीले बताए । आयत्री गोत्र भएका अवस्थीहरुको बसोबास भएको ठाउँमा अनिरुद्र देवतालाई कुल देवताको रुपमा पूजाआजा गर्ने गरिएको छ । अनिरुद्र देवताको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update