बैतडी–भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीका कारण प्रभावित भएका नागरिकहरुको सहयोगका लागि बैतडीको एक संस्थागत विद्यालयले सहयोग गरेको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका–५ टकौरास्थित नेश्नल ब्राइटर एकेडेमीका शिक्षक र विद्यार्थीहरुले बाढी प्रभावित नागरिकका लागि रकम संकलन गरेर सहयोग गरेका विद्यालयका कम्प्युटर शिक्षक महेश जोशीले बताए ।
विद्यालयमा कार्यरत शिक्षकहरुबाट ११ हजार ८ सय ७० र विद्यार्थीहरुबाट १५ हजार ४ सय ३० रुपैयाँ गरेर २७ हजार ३ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गरिएको विद्यालयका प्रिन्सिपल श्याम केसीले बताए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षक र विद्यार्थीहरुले बाढी प्रभावित नागरिकका लागि उक्त रकम संकलन गरेका हुन् । विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर बाढी प्रभावित नागरिकका लागि सहयोग गरेको प्रिन्सिपल केसीले बताए ।




