बैतडी– भोटेकोशी नदीमा आएको बाढीका कारण बैतडीको सुर्नया गाउँपालिकाका दुई जना सम्पर्क विहिन भएका छन् ।
रसुवास्थित लाङटाङ हाइड्रोपावरमा इलेक्ट्रिक सव इन्जिनियर पदमा कार्यरत सुर्नया –५ बिष्टपालीका २४ बर्षीय केशव बिष्ट र त्रिशुली हाइड्रोपावरमा कार्यरत सुर्नया –६ मोतीनगरका ३० बर्षीय हरिश चन्द सम्पर्क विहिन रहेका परिवारजनले जनाएका छन् ।
रसुवामा आएको बाढीपछि उनीहरु दुवैजना सम्पर्कविहिन रहेका बताइएको छ ।
बिष्ट गएको असोजदेखि रसुवास्थित लाङटाङ हाइड्रोपावरमा कार्यरत रहेका उनका काका भानबहादुर बिष्टले बताए । बुधबार बिहानदेखि उनी सम्पर्कविहिन रहेका उनले बताए ।
यस्तै चन्द त्रिशुली हाइड्रोपावरमा गएको जेठदेखि कुक म्यानको रुपमा कार्यरत रहेका स्थानीय कमला चन्दले बताइन् । हिजो बिहान ९ बजेदेखि चन्द सम्पर्कविहिन भएपछि परिवारजन चिन्तामा परेका छन् ।
सम्पर्क विहिन भएका व्यक्तिहरुको खोजीका लागि सहयोग गरिदिन परिवारजनले आग्रह समेत गरेका छन् ।




