Sagun Khabar
सुर्नया युनाइटेड क्लबको उद्घाटनसँगै गौरापर्व विशेष सांस्कृतिक कार्यक्रम भदौ १४ गते

बैतडी - बैतडीको सुर्नया गाउँपालिकामा सुर्नया युनाइटेड क्लबको उद्घाटनसँगै गौरापर्व विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

क्लबको आयोजनामा यहि भदौ १४ गते सुर्नया गाउँपालिका–२ लिस्किटास्थित श्री बासुदेव माध्यमिक विद्यालयको प्राङ्गणमा उद्घाटन समारोह तथा गौरापर्व विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको सुर्नया युनाइटेड क्लबले जनाएको छ ।

क्लबले स्थानीय कला, संस्कृति र खेलकुदको प्रबर्द्धनसँगै युवाहरूको सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रममा राष्ट्रिय स्तरमा चर्चित कलाकार तथा खेलाडीहरूको समेत सहभागिता रहने आयोजकको भनाइ रहेको छ ।

कार्यक्रमका मुख्य आकर्षणका रूपमा चर्चित गायक तथा मोडेल चक्र बम, चर्चित गायिका हरिना नाथ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण पदक विजेता तथा रेफ्री प्रकाश साउँद र राष्ट्रिय तेक्वान्दो खेलाडी तथा रेफ्री धनबहादुर बिष्ट लगायतको सहभागिता रहने बताइएको छ।

त्यसैगरी कार्यक्रममा अन्य चर्चित कलाकार तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, देउडा तथा गौरापर्व विशेष सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।सुदूरपश्चिमको मौलिक संस्कृति, कला र परम्परालाई संरक्षण तथा प्रबर्द्धन  गर्ने उद्देश्यले देउडा लगायतका सांस्कृतिक प्रस्तुतिलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।

क्लबको उद्घाटनसँगै आयोजना हुने कार्यक्रमले स्थानीय युवाको प्रतिभा प्रदर्शनका लागि समेत अवसर सिर्जना गर्ने आयोजकको अपेक्षा छ। साथै गौरापर्वको सांस्कृतिक महत्वलाई उजागर गर्दै स्थानीय समुदायलाई मनोरञ्जनसँगै मौलिक संस्कृति संरक्षणमा जोड्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रममा सुर्नया गाउँपालिका तथा आसपासका क्षेत्रबाट उल्लेख्य दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ। क्लबले कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न तयारी तीव्र बनाएको बताइएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update