Sagun Khabar
दार्चुला जिल्ला अस्पताल भवनको ठेक्का तोड्न मन्त्री लम्सालको निर्देशन

दार्चुला –निर्माणाधीन दार्चुला जिल्ला अस्पताल भवनको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कडा असन्तुष्टि जनाउँदै ठेक्का सम्झौता तोड्न निर्देशन दिएका छन् । जिल्ला अस्पतालमा निर्माणाधीन भवनको स्थलगत अवस्था तथा निर्माण प्रगतिबारे जानकारी लिएपछि मन्त्री लम्सालले निर्धारित समयभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएका हुन् । 

मन्त्री लम्सालले निर्माण व्यवसायीको लापरबाहीका कारण अस्पताल भवन निर्माणमा अनावश्यक ढिलाइ भएको भन्दै अब थप समय कुर्न नसकिने बताएका छन् । उनले ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाउँदै निर्माण व्यवसायीलाई सार्वजनिक खरिदसम्बन्धी कानुनबमोजिम कालोसूचीमा राख्न आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने बताएका छन् ।

अस्पताल भवन निर्माणमा भइरहेको ढिलाइका कारण स्वास्थ्य सेवा प्रवाहमा समेत असर परेको भन्दै निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउन मन्त्रीले सम्बन्धित कार्यालय तथा सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । 

मन्त्रीको निर्देशनपछि अब निर्माण व्यवसायीमाथि ठेक्का सम्झौता र सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने भएको छ । भवन निर्माणको काम समयमै सम्पन्न गराउन आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया तत्काल अघि बढाइने सम्बन्धित पक्षले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update