Sagun Khabar
महारुद्र बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित महारुद्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष विष्णुदत्त भट्टको अध्यक्षतामा सम्पन्न भएको बार्षिक साधारण सभामा दशरथचन्द नगरपालिका–१ का कार्यवाहक वडा अध्यक्ष करन भाट प्रमुख अतिथी रहेका थिए । 

साधारण सभामा दशरथचन्द नगरपालिकाका सहकारी विभाग प्रमुख अम्बादत्त बोगटी, सिद्धकेदार बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नारदसिंह ऐरी, विभिन्न विद्यालयका शिक्षक, सहकारी संस्थाका पदाधिकारी, शेयर सदस्य लगायत अन्य सरोकारवालाहरुको सहभागिता थियो । 

२०५३ सालमा स्थापना भएको सहकारी संस्था २०५५ सालमा दर्ता भएको थियो । सहकारी संस्थामा अहिले ३ सय ४९ जना शेयर सदस्य रहेका संस्थाका व्यवस्थापक खेमराज भट्टले जानकारी दिए । 

गत आर्थिक बर्षको आयव्यय विवरण प्रस्तुत गर्दै व्यवस्थापक भट्टले ५ लाख ५९ हजार ४ सय रुपैयाँ शेयर पूँजी रहेको जानकारी दिएका छन् । यस्तै ५ लाख ३० हजार १८५ रुपैयाँ कोष रकम, १ करोड २८ लाख ११ हजार ९९ रुपैयाँ बचत रकम र १ करोड २० लाख १७ हजार ७६१ रुपैयाँ ऋण लगानी रहेको उनले बताए । 

गत बर्षको जम्मा आम्दानी र खर्च रकम १६ लाख ६६ हजार ८११ रुपैयाँ रहेको संस्थाकी सह–व्यवस्थापक विष्ना भाटले जानकारी दिइन् । 

सहकारी संस्थाले समयानुकल आफ्नो कार्यविधिहरु परिवर्तन गर्दै काम गरिरहेको संस्थाका अध्यक्ष विष्णुदत्त भट्टले बताए । संस्थाले विभिन्न कार्यविधिहरु बनाएर लागू गरिरहेको समेत उनले साधारण सभामा जानकारी दिए । 

यस्तै साधारण सभामा संस्थाका कोषाध्यक्ष नरेन्द्र भट्टले गत आर्थिक बर्षको बित्तीय प्रतिवेदन र आगामी आर्थिक बर्षको अनुमानित बजेट र कार्यक्रम प्रस्तुत गरेका थिए । 

ग्रामीण क्षेत्रको पूँजीलाई एकीकरण गरेर स्थानीयस्तरका नागरिकको बित्तीय क्षेत्रमा पहुँच पुर्याउन सहकारीले भरमग्दुर प्रयास गरिरहेको संस्थाका अध्यक्ष भट्टले बताए । 

बार्षिक साधारण सभामा सहभागी भएका दशरथचन्द नगरपालिकाका सहकारी विभाग प्रमुख अम्बादत्त बोगटीले महारुद्र बचत तथा ऋण सहकारी संस्था दशरथचन्द नगरपालिकाभित्रको एक उत्कृष्ट सहकारी रहेको बताएका छन् । संस्थाले सहकारी सिद्धान्त अनुसार काम गरिरहेको उनले बताए । 

यस्तै कार्यवाहक वडा अध्यक्ष करन भाटले सहकारी संस्थालाई वडा कार्यालयका तर्फबाट हुन सक्ने आवश्यक सहयोग गरिने बताए । 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update