दार्चुला-रसुवाको टिमुरेस्थित भोटेकोसी नदीको बाढीमा परी बेपत्ता हुनुभएका नेपाली सेनाका सहायक सेनानी देवसिंह धामीको २८ दिनसम्म पनि अत्तोपत्तो नभएपछि बुधबार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।
दार्चुलाको लेकम गाउँपालिका ४ घर भई टिमुरे पोस्टमा इन्चार्जका रूपमा कार्यरत धामी भदौ १० गते ड्युटीमा रहेकै बेला बाढीमा परी बेपत्ता हुनुभएको थियो। लामो समयसम्म खोजी गर्दा पनि फेला नपरेपछि परिवारजनले धार्मिक विधिअनुसार लेकम ३ स्थित लाली आर्यघाटमा कुशको प्रतीक शव बनाएर उहाँको अन्तिम बिदाइ गरेका छन् ।
अन्त्येष्टिका क्रममा दार्चुलास्थित श्रीदल गुल्मको सैनिक टोलीले भावपूर्ण सलामी अर्पण गरेको थियो। २०६२ सालमा सिपाही पदबाट सेवा प्रवेश गर्नुभएका धामी गत वर्ष मात्रै आन्तरिक प्रतिस्पर्धाबाट अधिकृत पदमा पदोन्नति हुनुभएको थियो । उहाँको असामयिक अवसानले सिङ्गो लेकम गाउँ र नेपाली सेना शोकमा डुबेको छ ।




