Sagun Khabar
महाकाली भन्सार कार्यालय झुलाघाटद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन, निर्यात भने शून्य 

बैतडी–बैतडीको महाकाली भन्सार कार्यालय झुलाघाटले गत आर्थिक बर्षमा लक्ष्य भन्दाबढी राजस्व संकलन गरेको छ । 

गत आर्थिक बर्षमा ९० लाख ९५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा १ करोड ६ लाख १९ हजार ३१९ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले बताए । गत आर्थिक बर्षमा लक्ष्य भन्दा १६.७६ प्रतिशत बढी राजस्व संकलन भएको उनले बताए । 

भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट आयात हुने वस्तुको भन्सार शुल्क, पैठारी, मूल्य अभिवृद्धि, लिलाम लगायतका शीर्षकहरुबाट राजस्व संकलन भएको कार्यालयका लेखापाल देवराज रानाले बताए । झुलाघाट नाकाबाट निर्यात भने शून्य रहेको छ । 

भन्सार महसुलबाट २६ लाख ६८ हजार ७८७ रुपैयाँ, पैठारी सेवा दस्तुरबाट २ लाख १२ हजार ५००, मूल्य अभिवृद्धिकरबाट २१ लाख ४२ हजार १५५ रुपैयाँ संकलन गरिएको हो । यस्तै अन्तशुल्कबाट १ लाख २२ हजार ७०४ र दण्ड जरिवाना धितो लिलामबाट ५४ लाख ६१ हजार १७३ रुपैयाँ संकलन गरिएको महाकाली भन्सार कार्यालयले जनाएको छ । 

झुलाघाट नाकाबाट पछिल्लो चार ÷पाँच बर्ष यता निर्यात भने शून्य रहेको कार्यालयले जनाएको छ । पहिला–पहिला यो नाकाबाट घिउ, तरकारी लगायतका वस्तुहरु निर्यात हुने भएपनि पछिल्ला बर्षहरुमा निर्यात शून्य रहेको लेखापाल रानाले बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  ०८:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update