Sagun Khabar
सिगास गाउँपालिकाका वडामा सचिव नहुँदा समस्या, करारका कर्मचारीले काम चलाउँदै 

बैतडी–बैतडीको सिगास गाउँपालिकाका ९ ओटै वडामा सचिव नहुँदा समस्या भएको छ । दरबन्दी अनुसारका सचिव नहुँदा करारका कर्मचारीहरुमार्फत काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर बोहराले बताए । 

सिगास गाउँपालिका वडा नं २ मात्रै स्थायी दरबन्दीका सचिव रहेका र उनको पनि केही दिन पहिला सरुवा भएपछि उक्त वडामा पनि करारकै कर्मचारीलाई सचिवको जिम्मेवारी दिनुपर्ने अवस्था आएको प्रमुख प्रशासकीय अधिकृत बोहराले बताए । 

गाउँपालिकाका ९ ओटा वडामध्ये सातओटा वडामा करारका कर्मचारीहरुले वडा सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । वडा नं २ र ३ मात्रै स्थायी कर्मचारी सचिवको जिम्मेवारीमा रहेका थिए । वडा नं २ का सचिव उमेश कलेलको पनि केही दिन अगाडिमात्रै सरुवा भएपछि उक्त वडामा समेत समस्या भएको छ । 

वडा नं ३ मा एक जना प्राविधिक कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको छ । अन्य सातओटा वडामा करारका कर्मचारीहरुले सचिवको जिम्मेवारी बहन गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत बोहराले बताए । 

वडामा दरबन्दी अनुसारका सचिव नहुँदा सेवाग्राहीहरुले विभिन्न खालका समस्या झेल्नुपरीरहेको स्थानीय सूर्यबहादुर बोहराले बताए । वडा नं २ मा सचिव नहुँदा पञ्जीकरण लगायतका सिफारिशका काम समेत रोकिएका उनले बताए । 

दरबन्दी अनुसार कर्मचारी नभएको ठाउँमा प्रदेश लोक सेवा आयोगलाई लेखी पठाएको भएपनि पदपूर्ती हुन सकेको छैन् । पदपूर्ती भएका वडाका सचिवहरु समेत सरुवा मागेर अन्यत्र गएपछि समस्या भएको प्रमुख प्रशासकीय अधिकृत बोहराले बताए । 
 
 

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update