Sagun Khabar
पहिरोको कारण सिल्लेगडा–कालागाउँ–पुर्चौंडी सडक अवरुद्ध

बैतडी–लगातारको बर्षाले पहिरो खसेपछि सिल्लेगडा–कालागाउँ–पुर्चौंडी सडक अवरुद्ध भएको छ । 

उक्त सडकखण्ड अन्तर्गत दोगडाकेदार गाउँपालिका–२ को डाँडाइजर भन्ने ठाउँमा ठूलो पहिरो खसेको स्थानीय सुरेश बिष्टले जानकारी दिए । पहिरोका कारण गएको एक हप्ता यता उक्त सडक पूर्ण रुपमा बन्द रहेको उनले बताए । 

पहिरोको माथिपट्टी ठूला ढुङ्गाहरु अड्किएकाले पैदल हिड्न समेत जोखिम रहेको बिष्टले बताए । सडक अवरुद्ध हुँदा स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ । दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि आकस्मिक बिरामीहरुलाई अस्पताल लैजान समेत समस्या भएको छ । 

पहिरोका कारण पुर्चौंडीको तल्लोदेहीसम्मको यातायात प्रभावित भएको बिष्टले बताए । सडकमा खसेको पहिरो नपन्छ्याउँदा समस्या भएको उनको भनाइ छ ।  

सडकमा खसेको पहिरो पन्छ्याउनका लागि सम्बन्धित निकायलाई स्थानीयहरुले आग्रह गरेका छन् । सडक अवरुद्ध हुँदा सवारी साधन पूर्ण रुपमा बन्द हुनुका साथै पैदल हिड्न समेत समस्या भएकाले पहिरो पन्छ्याउन स्थानीयहरुले माग गरेका हुन् । 

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १३:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update