Sagun Khabar
सद्भाव,सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

 विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन आमनेपाली नागरिकलाई आह्वान गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाले संयुक्त विज्ञप्ति निकालेर कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न अपील गरेका हुन् । उनीहरूले सदीयौँदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्‍याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि आह्वान गरेका छन् ।

संयुक्त अपीलमा विश्व हिन्दू महासङ्घ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासङ्घका सचिवालय सदस्य राजुराज फुयाँल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गर्नुभएको छ ।

सुनसरी, सिरहा तथा मधेश प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गरी कानून विपरीतका कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्न, पीडित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध पनि गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update