Sagun Khabar
बैतडीको पाटन नगरपालिका–९ मा किसानहरूलाई विषादीको सुरक्षित प्रयोग सम्बन्धी प्रशिक्षण

बैतडी-  बैतडीको पाटन नगरपालिका–९ मा किसानहरूलाई विषादीको सुरक्षित प्रयोग सम्बन्धी प्रशिक्षण दिइएको छ । केही दिनअघि कैलालीको अत्तरियास्थित विषादी अवशेष परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पाटन–९ बाट परीक्षणका लागि पठाइएको रायोको सागमा विषादीको अवशेष भेटिएको गुनासो आएपछि किसानहरूलाई सचेत गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको पाटन नगरपालिका वडा ९ का वडा अध्यक्ष कालु सिंह भाटले बताए ।

प्रशिक्षणमा किसानहरूलाई सकेसम्म जैविक विषादीको प्रयोग गर्न तथा अत्यावश्यक अवस्थामा मात्र निर्धारित मात्रा र विधिअनुसार रासायनिक विषादी प्रयोग गर्न आग्रह गरिएको थियो । 

रासायनिक विषादीलाई अन्तिम विकल्पका रूपमा मात्रै प्रयोग गर्नुपर्ने विषयमा समेत जानकारी गराइएको पाटन नगरपालिकाका कृषि शाखाका प्राविधिक महेशप्रसाद अवस्थीले जानकारी दिए ।

प्रशिक्षणका क्रममा विषादीको सही मात्रा, प्रयोग गर्ने समय, सुरक्षाका उपाय तथा बाली टिप्नुअघि पालना गर्नुपर्ने ’वेटिङ पिरियड’ लगायतका विषयमा किसानलाई जानकारी गराइएको अध्यक्ष कालु सिंह भाटले बताए ।

नगरपालिकाले सुरक्षित कृषि उत्पादन प्रवद्र्धन गर्दै उपभोक्तालाई स्वस्थ र गुणस्तरीय तरकारी उपलब्ध गराउने उद्देश्यले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा करिब ८० जना भन्दा बढी किसानको सहभागिता रहेको थियो ।

कार्यक्रममा किसानहरुलाइ पाटन नगरपालिकाका कृषि शाखाका प्राविधिक महेशप्रसाद अवस्थी र खडक धामीले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update