बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीमा डिजिटल एक्स–रे सेवा सुरु भएको छ । गाउँपालिकाले पञ्चेश्वर स्वास्थ्य चौकीलाइ डिजिटल एक्स–रे मेसिन हस्तान्तरण गरेपछि यो महिनादेखि औपचारिक रूपमा सेवा सुरु भएको स्वास्थ्य चौकीका प्रमुख सुरेश सार्कीले बताए ।
अबदेखि सामान्य एक्स–रे परीक्षणका लागि स्थानीय नागरिकले जिल्ला सदरमुकाम वा अन्य अस्पताल पुग्नुपर्ने बाध्यता धेरै हदसम्म हट्ने अपेक्षा गरिएको सार्कीले बताए । डिजिटल एक्स–रे सेवा सुरुभएसँगै हड्डी, छाती तथा अन्य रोगको समयमै परीक्षण र उपचारमा सहजता ल्याउनुका साथै सेवाग्राहीको समय र खर्चसमेत बचत हुने विश्वास व्यक्त गरिएको छ । उपलब्ध उपकरणलाई पूर्ण क्षमताका साथ सञ्चालन गरी सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सम्पूर्ण स्वास्थ्यकर्मी प्रतिबद्ध रहेको प्रमुख सार्कीले बताए ।
नागरिकलाई आफ्नै पालिकाभित्र आधुनिक, गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य क्षेत्रमा आवश्यक लगानीलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । डिजिटल एक्स–रे सेवा सञ्चालनसँगै स्थानीय नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने र आगामी दिनमा स्वास्थ्य संस्थालाई आवश्यक उपकरण, पूर्वाधार लगायत जनशक्तिले थप सुदृढ बनाइने अध्यक्ष चन्दले बताए ।
स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले पालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सेवा विस्तार र गुणस्तर अभिवृद्धिका कार्यक्रमलाई निरन्तर अघि बढाइ स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउँदै नागरिकले आफ्नै स्थानीय तहबाट भरपर्दो सेवा प्राप्त गर्ने वातावरण निर्माण गरिने गाउँपालिकाकी उपाध्यक्ष विना भट्टले बताइन् ।





