बैतडी–बैतडीको पाटनस्थित कृष्ण माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेकी हुन् ।
विद्यालयमै पुगेर उनले बालबालिकाहरुलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरेकी हुन् । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बालबालिकाहरुको पठनपाठनमा केही सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण गरिएको भट्टले बताए ।
जन्मदिनको अवसरमा विद्यालयमा शैक्षिक सामग्री वितरण गरेकोमा उनलाई विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ । जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गर्दा अरुलाई पनि यस्तै खालको प्रेरणा मिल्ने भएकाले यो निकै राम्रो काम भएको कृष्ण माविका प्रधानाध्यापक विरेन्द्र केसीले बताए ।
यस्तै जन्मदिनको अवसरमा भट्टले समस्या परेकी दशरथचन्द नगरपालिका–१ झोकालीकी राजमती भुललाई पनि सहयोग गरेकी छन् । राजमतीका श्रीमान नवीन भुलको अल्पायुमै निधन भएपछि उनको परिवार विचल्लीमा परेको छ । नवीनको परिवारका लागि सञ्चालन गरिएको सहयोग अभियान अन्तर्गत भट्टले १ हजार ५५५ रुपैयाँ सहयोग गरेकी हुन् ।





