बैतडी–बैतडीमा कार्यरत गैरसरकारी संस्था परोपकार ग्रामीण विकास संघले समीक्षा बैठक सम्पन्न गरेको छ । एक बर्षको अवधिमा संस्थाले गरेका कामहरुको बारेमा जानकारी दिनका लागि सरोकारवालाहरुसँग समीक्षा बैठक गरेको हो ।
बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित बैठकमा संस्थाले गल्स फस्ट फण्डको सहयोगमा सञ्चालन गरिरहेको बालविवाह न्यूनीकरण र किशोरीकिशोरी क्षमता अभिवृद्धि परियोजना अन्तर्गत सम्पादन गरिएका कामहरुको बारेमा जानकारी दिइएको संस्थाकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् ।
पाटन नगरपालिकाको वडा नं २ र ६ मा कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले एक बर्षको अवधिमा बालविवाह न्यूनीकरण, लागू औषध नियन्त्रण, हानिकारक प्रचलन अन्त्यका लागि थुप्रै कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।
एक बर्षको अवधिमा दुवै वडामा किशोरकिशोरीहरुको समूह गठन गरेर रुपान्तरण कक्षा सञ्चालन गरिएको छ भने बालविवाहजस्ता हानिकारक प्रचलन अन्त्यका लागि धार्मिक अगुवा, अभिभावक लगायतसँग अन्तरपुस्ता सम्वाद सञ्चालन गरिएको संस्थाका लेखा अधिकृत हेमन्त अवस्थीले बताए ।
अभिभावक रुपान्तरण कार्यक्रम, साइबर सुरक्षा र लागू औषध नियन्त्रणका बिषयमा प्रशिक्षण कार्यक्रम, विभिन्न दिवसहरुमा सहभागिता, बालबालिकाहरुका लागि छात्रवृति कार्यक्रम समेत सम्पन्न गरिएको संस्थाकी अध्यक्ष मीरा पन्तले बताइन् ।
परोपकार ग्रामीण विकास संघले पाटन नगरपालिका र वडाहरुसँगको सहकार्य पनि विभिन्न कार्यक्रमहरु सम्पादन गरेको कार्यक्रम संयोजक भट्टले बताइन् ।
परोपकार ग्रामीण विकास संघले सञ्चालन गरेको कार्यक्रमले बालविवाह न्यूनीकरण र बालबालिकाहरुको शिक्षा ग्रहण गर्ने अधिकारलाई स्थापित गर्न सहयोग गर्ने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दशरथदत्त भट्टले बताए ।
समीक्षा बैठकमा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टले समाज परिवर्तनका लागि संस्थाले गरिरहेको काम निकै प्रभावकारी रहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।





