बैतडी –बैतडीमा किशोरकिशोरीहरुलाई साइबर सुरक्षा र लागू औषध नियन्त्रणका बिषयमा प्रशिक्षण दिइएको छ ।
पाटन नगरपालिका–२ मा किशोरकिशोरीहरुलाई उक्त प्रशिक्षण दिइएको हो । पछिल्लो समयमा साइबार अपराधहरु बढ्दै गएका, लागू औषध दुर्व्यसनीहरुको संख्या बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको आयोजक संस्था परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् ।
परोपकार ग्रामीण विकास संघले गल्स फस्ट फण्डको सहयोगमा बालविवाह न्यूनीकरण र किशोरकिशोरीहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका लेखा अधिकृत हेमन्त अवस्थीले बताए ।
किशोरकिशोरीहरु साइबार अपराधको शिकार हुन सक्ने र लागू औषध दुर्व्यसनमा फस्न सक्ने अवस्था रहेकाले उनीहरुलाई सजक गराउन प्रशिक्षण दिइएको भट्टले बताइन् ।
प्रशिक्षण कार्यक्रममा किशोरकिशोरीहरुलाई साइबर सुरक्षा र लागू औषध नियन्त्रणका बिषयमा इलाका प्रहरी कार्यालय पाटनका प्रहरी सहायक निरीक्षक मनोज खातीले जानकारी दिएका थिए ।





