Sagun Khabar
प्रदेश सांसद महराले हस्ताक्षर फिर्ता लिइन, मुख्यमन्त्री शाहको पद जोगियो 

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि सुरक्षित भएको छ । उनीविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एक सांसदले समर्थन फिर्ता लिएपछि तत्कालका लागि उनको पद सुरक्षित भएको हो । 

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नौ सांसदमध्ये प्रदेशसभा सदस्य डम्मरी महराले आफ्नो हस्ताक्षर फिर्ता लिएकी छन् । उनले काँग्रेसभित्रको एकता कायम राख्नु र प्रदेशको बजेट निर्माणलाई प्राथमिकता दिनुपर्ने भएकाले हस्ताक्षर फिर्ता लिएको बताएकी छन् । 

महराको निर्णयसँगै मुख्यमन्त्री शाहविरुद्धको अविश्वास प्रस्तावमा समर्थक सांसदको संख्या घटेको छ, जसले तत्कालका लागि शाहको पद जोगिएको छ ।

यसअघि नेपाली काँग्रेसका बहुमत सांसदले शाहलाई संसदीय दलको नेताबाट हटाउन मंगलबार अविश्वास प्रस्ताव दर्ता गरेका थिए । प्रदेशसभा सदस्य दिवानसिंह विष्टको नेतृत्वमा उक्त प्रस्ताव काँग्रेस संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो । 

काँग्रेसभित्र नेतृत्व परिवर्तनको विषयमा देखिएको विवादका बीच एक सांसदले हस्ताक्षर फिर्ता लिएपछि दलभित्रको शक्ति सन्तुलनमा नयाँ मोड आएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update