Sagun Khabar
महाकालीमा सशस्त्र प्रहरीका जवानसहित दुई जना मृत भेटिए

डडेल्धुरा –डडेलधुरामा शुक्रबारदेखि बेपत्ता रहेका सशस्त्र प्रहरी जवानसहितका दुई जना मृत अवस्था फेला परेका छन् ।

सशस्त्र प्रहरीको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र परशुराम नगरपालिका–५ का स्थानीय तीर्थबहादुर थापा मगर सोमबार बिहान मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
दुवै जनाको शव महाकाली नदीमा फेला परेको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले बताए । 

उनकाअनुसार तीर्थबहादुरको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठेमा भेटिएको हो भने सशस्त्रका जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा भारततर्फको महाकाली नदी किनारमै भेटिएको हो ।

डीएसपी सिंहले डडेलधुरातर्फ फेला परेका थापामगरको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ । बीओपी परिगाउँमा कार्यरत जवान पुनमगरको शव महाकाली नदी किनारमै भारतीय भूमीमा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिनोद थापाले भारतीय भूमीमा मृत भेटिएका कारण पुनमगरको शव भारतीय प्रहरीले घटनास्थल कार्य सकेर उतैतिर लगेको जानकारी दिए ।

अब भारतीय प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई शव जिम्मा लगाउनेछन् ।  घटनाबारे आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update