बैतडी –सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक दशकमा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले विभिन्न स्थानबाट पासोमा परेका २८ वटा चितुवाको उद्धार गरेको छ । सुदूरका तराईका जिल्ला र पहाडी जिल्लाबाट ती चितुवा उद्धार गरिएको बताइएको छ ।
कोषका अनुसार कतिपय चितुवा उद्धार टोली पुग्नुअघि नै पासोबाट फुत्केर भागेका थिए भने केहीको मृत्यु समेत भएको थियो । यसले प्रदेशमा मानव–वन्यजन्तु द्वन्द्व निरन्तर बढ्दै गएको संकेत गरेको छ ।
तराईदेखि पहाडसम्म वन्यजन्तुले बालीनाली नोक्सान गर्ने, पशुचौपायामाथि आक्रमण गर्ने र कतिपय अवस्थामा मासिनमाथि नै आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास बढेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमले गरेको अध्ययनले चितुवा मानव बस्तीनजिकै बढी विचरण गरिरहेको देखाएको छ ।
अध्ययनअनुसार बैतडीको तल्लो स्वराड, दार्चुलाको चौलानी करिडोर र अपि बेस क्याम्प क्षेत्र तथा डोटीको महाभारत रेञ्ज आसपास चितुवाको गतिविधि बढी देखिएको छ ।
शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न व्यवहार परिवर्तन आवश्यक रहेको बताए । उनका अनुसार वन्यजन्तुको आनीबानीबारे जानकारी दिनु, स्थानीयलाई जीविकोपार्जनमा जोड्नु र द्वन्द्व न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउनु आवश्यक छ ।
पछिल्लो १० वर्षमा प्रदेशभर मानव–वन्यजन्तु द्वन्द्वका करिब ३ हजार ३ सय घटना वन तथा निकुञ्ज प्रशासनमा दर्ता भएका छन् । तीमध्ये अधिकांश घटना चितुवासँग सम्बन्धित छन् । त्यसपछि बाँदर, बँदेल र हात्तीका घटना बढी रहेका छन् ।
वनमा आहारा प्रजातिको अभावका कारण चितुवा बस्तीतर्फ आउन थालेको कोषले जनाएको छ । यद्यपि धेरै घटना औपचारिक रूपमा प्रशासनसम्म नपुगेको पनि बताइएको छ ।
कोषले दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, बझाङ र बाजुराका विभिन्न क्षेत्रमा वन्यजन्तुको अवस्था, बासस्थान र मानव–वन्यजन्तु सम्बन्धबारे अध्ययन गरेको थियो । अध्ययनका क्रममा स्वचालित क्यामेरा जडान गर्नुका साथै अकुपेन्सी सर्भेमार्फत वन्यजन्तुको पदचिन्ह, आहारा प्रजाति र बासस्थानको अवस्थाबारे जानकारी संकलन गरिएको थियो ।
डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा सन् २०२४ फेब्रुअरीदेखि एक वर्षसम्म गरिएको अध्ययनमा २२ प्रजातिका स्तनधारी जनावर फेला परेका छन् । तीमध्ये चितुवा, चरी बाघ, वन बिरालो, कालो भालु र कस्तुरी मृग प्रमुख रहेका छन् ।
त्यस्तै बडिमालिका र रामारोशन क्षेत्रमा १८ प्रजातिका स्तनधारी जनावर भेटिएका छन् । अध्ययनका क्रममा जडीबुटी, वनस्पति, पुतली र चराको अवस्थाबारे पनि तथ्यांक संकलन गरिएको थियो । रामारोशन क्षेत्रमा ३०१ र बडिमालिकामा ५१७ प्रजातिका वनस्पति रहेको पाइएको छ । साथै १२८ प्रजातिका पुतली र १९० प्रजातिका चरा अभिलेख गरिएको कार्यक्रम प्रमुख जोशीले जानकारी दिए ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि कोषले विभिन्न जिल्लामा सहजकर्तासमेत परिचालन गरेको छ । ती सहजकर्ताले समुदायमा वन्यजन्तुको व्यवहार, आक्रमणबाट बच्ने उपाय र संरक्षणसम्बन्धी जनचेतना फैलाउने काम गरिरहेका छन् ।





