बझाङ –प्रहरीले नक्कली चुरोटसहित बझाङबाट दुई जनालाई पक्राउ गरेको छ । जयपृथ्वी नगरपालिका–१० जिपपार्क क्षेत्रमा प्रहरीले ‘खुकुरी’ ब्रान्डका नक्कली चुरोट बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश ००१ क २५५२ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा साढे नौ कार्टुन नक्कली चुरोट फेला पारेको प्रहरीले जनाएको छ । चुरोटसहित पक्राउ पर्नेमा ट्रक चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ का ३२ बर्षीय पंकज चौधरी र बैतडीको पाटन नगरपालिका–२ का २१ बर्षीय हेमराज पाण्डेय रहेका छन् ।
खुकुरी चुरोटका अन्य कार्टुनमा रहेको अन्तःशुल्क स्टिकर र बरामद गरिएको चुरोटमा रहेको स्टिकर फरक पाइएपछि चुरोट नक्कली भएको आशंकामा नियन्त्रणमा लिइएको बझाङका प्रहरी प्रमुख डीएसपी खगेन्द्र धमलाले बताए । उनले भने,‘हामीले खुकुरी चुरोटका आधिकारिक उत्पादक सूर्य नेपालका प्रतिनिधि र अन्तःशुल्कका प्रतिनिधिलाई पनि यसबारे बुझ्न बझाङ बोलाएका छौँ । उहाँहरू आइसकेपछि यथार्थ के हो थाहा हुन्छ ।’
उनले मिनी ट्रकमा विभिन्न पसलका सामान ओसार्ने क्रममा चुरोट बरामद भएको बताउँदै अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको जानकारी दिए ।
बरामद गरिएको चुरोटको बजार मूल्य करिब साढे पाँच लाख रुपैयाँ बराबर रहेको उनको भनाइ छ ।





