बैतडी–बैतडीको पाटन नगरपालिका–६ स्थित कृष्ण मावि पाटनमा शरद पुस्तकालयको उद्दघाटन गरिएको छ ।
कृष्ण माविका पूर्व प्रधानाध्यापक शरदप्रसाद जोशीको स्मृतिमा उनका परिवारको समन्वय र नेपाल मेड जर्मनीको आंशिक आर्थिक सहयोगमा पुस्तकालयको स्थापना गरिएको बताइएको छ ।
आइतबार एक कार्यक्रमकाबीच पुस्तकालयको उद्दघाटन गरिएको छ । स्वर्गीय जोशीका धर्मपत्नी द्रोपदी जोशी र पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले संयुक्त रुपमा रिबन काटेर पुस्तकालयको उद्दघाटन गरेका हुन् ।
पाटन नगरपालिका–६ टुँडीखाड घर भएका जोशीले लामो समयसम्म कृष्ण माविमा प्रधानाध्यापकको भूमिका निर्वाह गरेका थिए ।
उनका छोरा र अन्य परिवारहरुले स्वर्गीय जोशीकै स्मृतिमा कृष्ण माविमा पुस्तकालय स्थापना गरेका हुन् । पठन संस्कृतिको विकासका लागि विद्यालयमा पुस्तकालयको स्थापना गरिएको नेपाल मेड जर्मनीका प्रतिनिधि एवं स्वर्गीय जोशीका कान्छा छोरा महेन्द्र जोशीले बताए । पुस्तकालयलाई यो क्षेत्रकै बिशिष्ट पुस्तकालयको रुपमा विकास गर्ने आफूहरुको लक्ष्य रहेको उनले बताए ।
पुस्तकालय स्थापनाले पठन संस्कृतिको विकास हुने र सिर्जनात्मक अभ्यासका लागि सहयोग पुग्ने बरिष्ठ बाल साहित्यकार विजयराज आचार्यले बताए ।
विद्यालयमा पुस्तकालय स्थापना भएपछि यहाँका बालबालिकाहरुलाई सहयोग पुग्ने कृष्ण मावि पाटनका प्रधानाध्यापक विरेन्द्र केसीले बताए ।
कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले जोशी परिवारले विद्यालयमा पुस्तकालय स्थापना गरेर ठूलो गुन लगाएको बताए ।
पुस्तकालयमा विभिन्न विधाका पुस्तकहरु राखिएका छन् । साहित्यकार आचार्यले आफूले लेखेका पुस्तकहरुलाई पुस्तकालयलाई निशुल्क रुपमा उपलब्ध गराएको बताएका छन् ।




