कैलाली –कैलालीको टीकापुरस्थित खक्रौला भन्सारमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा गएर स्थानीय व्यापारीले डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेका छन् ।
टीकापुर क्षेत्रका केही व्यापारीले गुल्मको गेट तोडफोड गर्दै ब्यारेकभित्र प्रवेश गरेर गुल्मपति पौडेलमाथि बुधबार हातपात गरेका हुन् ।
स्थानीयका अनुसार सशस्त्रले भारतबाट ल्याइएको सामान बरामद गरेको भन्दै आक्रोशित भएका व्यापारीहरुको समूह गुल्मको गेट तोडफोड गर्दै ब्यारेकभित्र पसेको थियो । समूहमा १५ जना बढी रहेको स्थानीयले बताएका छन् ।
गुल्मका सुरक्षाकर्मीले मंगलबार एक व्यापारीले भन्सार छली गरेर भारतबाट ल्याएको ५६ हजार बढी रुपैयाँ बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी सुदूरपश्चिम बाहिनीका एक अधिकृतले बताए ।
सशस्त्र प्रहरी सुदूरपश्चिमका निमित्त बाहिनीपति दिग्विजय सुवेदीले घटनाको छानबिन गर्न एसपी अनिल कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको बताए । सुवेदीले उक्त गुल्ममा कार्यरत पूरै टोली फेरबदल गर्न लागिएको बताएका छन् ।




