कैलाली –सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा धनगढीस्थित शहीद गेटमा रहेका शहीदको स्मारकमा माल्यार्पण गरेका छन् ।
बिहीबार आयोजित कार्यक्रममा उनले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र तथा नागरिक अधिकारको संरक्षणका लागि जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरे ।
कार्यक्रममा सभामुख, मन्त्री, सांसद, राष्ट्रसेवक कर्मचारी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यसअघि फागुन ५ गते मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाउने निर्णय गरेको थियो ।
प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा मुख्यमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
उनले २००७ सालको सफल क्रान्तिबाट १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको उल्लेख गर्दै सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएकाहरूको सम्मान गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा लोकतन्त्रमा जनता नै मालिक हुने उल्लेख गर्दै लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै रहेको बताएका छन् । जेनजी युवाहरूले उठाएको सुशासन र भ्रष्टाचार अन्त्यको मागको पृष्ठभूमिमा फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन लागेको उल्लेख गर्दै उनले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थायित्वका लागि निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।




