Sagun Khabar
‘कुशासन र बेथितिको सटर अब सधैँका लागि बन्द हुन्छ’–रवि लामिछाने 

कैलाली –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ आगामी निर्वाचनबाट सधैँका लागि बन्द हुने उद्घोष गरेका छन् । 

धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै लामिछानेले अब जनताले नेतालाई भोट मात्र दिने नभई, नेतासँग ‘कन्ट्राक्ट’ गर्ने युगको शुरुवात भएको बताए । लामिछानेले वर्षौंदेखि जनताका मुद्दालाई निर्वाचनको एजेन्डा मात्र बनाएर अल्झाइराख्ने राजनीतिक परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिए ।

नेपालको इतिहासमा पहिलोपटक रास्वपाले जनतासँग लिखित कन्ट्रयाक्ट गरेको दाबी गर्दै उनले ५ वर्षको स्थायी सरकारको अपेक्षा गरे । वाचा पूरा नगर्ने नेताले सजाय पाउनुपर्ने र जनता सधैँ पीडित बन्ने अवस्थाको अन्त्य गर्न रास्वपा मैदानमा आएको उनको भनाइ छ ।

भारतमा कार्यरत सुदूरपश्चिमका नेपालीहरूलाई सम्बोधन गर्दै लामिछानेले यसपटक देश बदल्नका लागि छुट्टी मिलाएर भए पनि मतदान गर्न आउन आग्रह गरे । सिंहदरबार बनाउने मात्र नभइ बदल्ने गरी आफूहरु आएको उनको जिकिर छ । सिंहदरबारको संरचना मात्र नभई त्यहाँको कार्यशैली र नियत बदल्नुपर्ने आवश्यकता रहेको लामिछानेले बताए । 

पुराना दलहरूले डोजर लगाएर गरिबको बस्ती उठाउने भ्रम फैलाएको भन्दै उनले ३५ वर्षसम्म जनताको सपनामा डोजर कसले चलायो भनि प्रतिप्रश्न गरे । 

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update