दार्चुला –दार्चुलाको नौगाड गाउँपालिका–१ नागुका स्थानीयले सडक निर्माणको माग सम्बोधन नभएसम्म मतदानमा सहभागी नहुने अडान दोहो¥याएका छन् । विकासमा पछाडि परेको गुनासो गर्दै उनीहरूले आगामी फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने घोषणा गरिसकेका छन् ।
नागु क्षेत्रका बासिन्दाले राजनीतिक दल तथा उम्मेदवारहरूले सडक लगायत आधारभूत पूर्वाधार निर्माणबारे लिखित प्रतिबद्धता नजनाएसम्म निर्वाचन प्रक्रियामा भाग नलिने निर्णय कायम राखेको संघर्ष समितिका संयोजक करनसिंह डडालले जानकारी दिए ।
स्थानीयलाई मनाउन माघ २४ गते नागु पुगेको सरकारी टोली पनि निष्कर्षविहीन रूपमा फर्किएको छ । पहिलोपटक गाउँमै दुई दिनसम्म छलफल तथा सेवा प्रवाह गरिए पनि स्थानीयवासी आश्वस्त नभएका बताइएको छ । यसअघि माघ १ र १७ गते आयोजित आमसभामार्फत नागुवासीले चुनाव बहिष्कारको घोषणा गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको नेतृत्वमा पुगेको सरकारी टोलीले स्थानीयसँग छलफल गर्नुका साथै नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र वितरण, स्वास्थ्य तथा पशु उपचार सेवा र औषधि वितरण शिविर सञ्चालन गरेको थियो । तर पनि सडक निर्माणबारे ठोस आश्वासन नआएसम्म आफूहरुले मतदान नगर्ने बताएका छन् ।




