Sagun Khabar
जनताको पीडामा थर्काइः भण्डारीको घरदैलो भिडियो भाइरल

बैतडी — बैतडी जिल्लामा यतिबेला सामाजिक सञ्जालमा एक भिडियो तीव्र रूपमा फैलिरहेको छ । उक्त भिडियोमा बैतडीबाट तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि नेकपा (एमाले) बाट उम्मेदवार बनेका दामोदर भण्डारी देखिन्छन् ।

भिडियो घरदैलो अभियानका क्रममा खिचिएको देखिन्छ । जहाँ भण्डारी स्थानीय नागरिकसँग संवाद गरिरहेका छन् । तर सो संवाद जनताको समस्या सुन्नेभन्दा पनि जनताको आवाज दबाउने शैलीमा सीमित भएको देखिएपछि भिडियोले व्यापक आलोचना खेपिरहेको छ ।

भिडियोमा एक स्थानीय किसानले आफ्नो वडामा बाटोको सुविधा नभएको, उत्पादन गरेको तरकारी स्थानीय बजार सिल्लेगडा सम्म भारी बोकेर लैजानु पर्ने बाध्यता रहेको गुनासो गर्छन् । किसानका अनुसार बजार भाउ प्रतिकेजी ४० रुपैयाँ भए पनि आफूले ३० रुपैयाँ मात्रै पाउने र बजारमै किन्नुपर्दा ८० रुपैयाँ तिर्नुपर्ने अवस्था छ ।
त्यसमाथि सिँचाइको सुविधा समेत नभएको पीडा उनले आफ्ना प्रतिनिधिसामु राख्छन् ।

तर समस्या सुन्नु पर्ने प्रतिनिधिको भूमिकामा रहेका भण्डारी किसानको गुनासोप्रति संवेदनशील देखिँदैनन् । बरु भिडियोमा उनी किसानलाई “तपाईं चुप लाग्नु” भन्दै रोक्छन् । त्यसपछि स्थानीय भाषामा “पख भुण्याब, तम खालि यार ख्या खुँ गरिराखन्छौ” भन्दै किसानको कुरा बेवास्ता गर्छन् । यसको आशय “धेरै नबोल्नू” भन्ने रूपमा बुझिन्छ ।

विडम्बनापूर्ण कुरा त के भने, किसानले आफ्नै खेतमा उत्पादन गरेको टमाटर बेच्न नपाएको गुनासो गरिरहँदा भण्डारीले भने धनगढीबाट आयातित टमाटर ४० रुपैयाँमा पाइरहेको तर्क प्रस्तुत गर्छन् । यसले स्थानीय उत्पादनप्रति राज्यको प्रतिनिधिको दृष्टिकोण के हो भन्ने गम्भीर प्रश्न उठाएको छ ।

स्थानीय किसानहरूका अनुसार समस्या नयाँ होइन । वर्षौं देखि बाटो, सिँचाइ, बजार र मूल्यको समस्या उस्तै छ । तर पटक–पटक निर्वाचित भएका प्रतिनिधिबाट समाधानको साटो थप थर्काइ र बेवास्ता भोग्नु परेपछि जनआक्रोश बढ्दै गएको छ ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नागरिकहरूले प्रश्न गरिरहेका छन् — “जनताले आफ्ना समस्या राख्न नपाउने प्रतिनिधि लोकतन्त्रको कसरी प्रतिनिधि हुन सक्छ?” “तीन पटक जितेका सांसदले किसानको पीडा सुन्न नसक्नु असफलता होइन र?”

निर्वाचनको मुखमा सार्वजनिक भएको यो भिडियोले दामोदर भण्डारीको जनप्रतिनिधिका रूपमा देखिएको व्यवहारमाथि गम्भीर प्रश्न खडा गरेको छ । जनताको समस्या सुन्ने, समाधान खोज्ने र आवाज बन्ने प्रतिनिधि चाहिएको बेला, जनतालाई ‘चुप लाग’ भन्ने प्रतिनिधिबाट आखिर जनताले के विश्वास गर्ने?

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update